२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

लिपुलेक हुँदै चीन र भारतले गरेको सम्झौताबारे जानकारी गराउन माओवादीकाे माग

५ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतले नेपालको भूमि लिपुलेक मार्ग हुँदै दुई देशबीच व्यापार गर्ने भनी भएको सम्झौताबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले भन्नुभयो, “आज नेपाल आमालाई दुखिरहेको छ, हाम्रा दुई छिमेकी मित्र राष्ट्र चीन र भारतले हाम्रो देश नेपाललाई जानकारीसमेत नदिइ लिपुलेक पासबाट दुई पक्षीय व्यापार खोल्ने सहमति गर्ने भन्ने खबरले हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ ।” उहाँले नेपालको संविधानमा उल्लेख गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएपनि नेपाललाई कुनै जानकारीसमेत नदिइ गरिएको भनिएको सहमतिको विरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, “विगतमा पनि हाम्रो पार्टीले यो विषयमा नेपालको राष्ट्रिय सार्वभौमिकता तथा अखण्डताको विरुद्ध छ भनेर भनेकै थियो, कुनैपनि सरकारको मुख्य कामभित्र पर्ने राष्ट्रिय सार्वभौमिता र अखण्डताको रक्षाको निम्ति उभिनु हो, लिपुलेक पासबाट दुई पक्षीय व्यापार खोल्ने सहमतिको बारेमा आवश्यक कुटनीतिक र राजनीतिक पहल अगाडि बढाउन सरकारसँग अनुरोध गर्दछु ।”

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १४:३५