लिपुलेकसहितका नेपाली भूमिबारे भारतको आपत्तिजनक टिप्पणी
५ भदौ, काठमाडौँ । लिपुलेकसहितका नेपाली भूमिबारे भारतले आपत्तिजनक टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विज्ञप्ति मार्फत लिपुलेकसहितका भूभाग माथिको नेपाली दाबी स्वीकार्य नभएको बताउनुभएको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले डराइडराइ विगत यस्तो छ र उस्तो छ भनेर जारी गरेको विज्ञप्ति माथि नै टिप्पणी गर्दै भारतले लिपुलेकमाथिको दाबीलाई ‘कृत्रिम’ भनेको छ । भारतले भनेको छ, ‘यस्ता दाबीहरू न जायज छन्, न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छन्। कुनै पनि एकपक्षीय कृत्रिम रूपमा क्षेत्रीय दाबीको विस्तार अस्वीकार्य छ।’
भारतले लिपुलेकमाथि नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको दाबी गरेको छ । नेपालले भने विगतदेखि आफूसँग लालपूर्जासहित महत्वपूर्ण प्रमाणहरू रहेको बताए पनि सोही अनुसार दाबी सार्वजनिक गर्न सकेको छैन ।
त्यसअघि नेपालले जारी गरेको विज्ञप्तिमा नेपाली भूमि व्यापारका लागि प्रयोग गर्ने चीन र भारतको सहमतिमा एक शब्द पनि बोलिएको थिएन । मिडियाका लागि बोलिदिएको उक्त कुरामा नेपालको परराष्ट्र मन्त्रालयले पछिल्लो सहमतिबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार ०७:०५









