२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नुवाकोटका गोकर्ण नेपालीलाई बाँदरले मारेको समाचार झुटो

४ भदौ, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का गोकर्ण नेपालीको बाँदरको आक्रमणमा मृत्यु भएको समाचार झुटो रहेको पुष्टि भएको छ । नुवाकोट प्रहरीका प्रवक्ता डिएसपी विक्रम लामाले पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कालिकास्थान निवासी गोकर्ण नेपालीको निधन भएको सत्य भए पनि निधनको कारण बाँदरको आक्रमण नरहेको जानकारी दिनुभयो ।

घर नजिकैको बारीमा बेहोस भएर ढल्नुभएको नेपालीलाई उपचारको लागि काठमाडौँ लैजाँदै गर्दा बाटामै निधन भएपछि पुन गाउँनै फर्काइएको थियो । बाँदरले मान्छे मारेको भन्दै समाचार जस्तै देखिने गलत सूचनाहरू समाजिक सञ्चालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धानका लागि टोली नै परिचालन गरेको थियो ।

अनुसन्धानबाट उहाँको मृत्यु बाँदरको आक्रमणमा नभएको पुष्टि भएको थियो । डिएसी लामाले अनुसन्धानका क्रममा गोकर्ण यसअघि पनि बेहोस हुने गरेको र सुगर र प्रेसरको औषधि खानेगरेको जानकारी प्राप्त भएको बताउनुभयो ।

dainiki.com

अन्नपूर्णपोस्टक्लिकमाण्डु लगायतले बाँदको आक्रणममा नेपालीको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए । पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामशरण श्रेष्ठले पनि दैनिकीसँग कुरा गर्दै बाँदरको आक्रमणमा गोकर्णको मृत्यु भनेर अफवाह फैलाएको भन्दै गुनासो गर्नुभयो ।

उहाँले दैनिकीसँग कुरा गर्दै भन्नुभयो ‘बिहान ६ बजेर ३० मिनेटको समयमा बाँदर देखेर धपाउन निस्किएको बारिमा ढलेर बेहोस भएको अवस्थामा उपचारका लागि एम्बुलेन्समा हालेर काठमाडौँका  लैँजादै गर्दा बाटोमै निधन भएको हो । उहाँले बारीमा बाँदर आएको भए पनि गोकर्णको निधनमा बाँदरको भूमिका केही छैन । उहाँ सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो ।’

उहाँले सञ्चार माध्यमले दिएको गलत सूचनाका कारण गोकर्णको दाहासंस्कारमा समस्या भएको बताउनुभयो । यद्यपी अहिले प्रहरी टोलीले घटनाका सम्बन्धमा सबै अनुसन्धान र सोधपुछ गरेपछि सबै पक्रिया सकिएर अहिले दाहासंस्कारको गर्न लागिएको बताउनुभयो । उहाँले गोकर्णको मृत्यु ह्दयघातका कारण भएको हुनसक्ने बताउनुभयो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १५:१६