प्रधानमन्त्री ओलीले गरे नाडा अटो शो २०२५ को उद्घाटन
३ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन गर्नुभएकाे छ । काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना गरिएको प्रदर्शनीको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएकाे हाे ।
भदाै ८ गतेसम्म चल्ने शोको उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्याे । नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याइएको आयोजकले बताएको छ ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पाट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहेकाे आयोजकले बताएको छ ।
एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको शोमा १ सय २५ भन्दा बढी प्रदर्शक रहनेछन् । प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स अत्याधुनिक चारपांग्रे रोबोट र डिपलको ईभीटोल यूएभी (उड्ने सवारी) छन् । भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।
प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १३:१५












