१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

अहिलेको सरकार प्रभावकारी देखिएको छः महासचिव पोखरेल

२ भदौ, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार अत्यन्त प्रभावकारी देखिएको बताउनुभएको छ ।

प्रेस चौतारी कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई ठूला पार्टी मिलेर बनेको सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताउनुभएको हो । उहाँले एमाले र कांग्रेसले मुख्य गरी मुलुकको सङ्कटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र लयमा फर्काउने, मुलुकमा सुशासन कामय गर्ने र स्थायित्वको आधार तयार गर्ने उद्देश्यले सरकार बनेको बताउँदै सोही अनुरुप सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताउनुभयो ।

“अघिल्लो सरकार हुने बेलासम्म राष्ट्रसेवक कर्मचारीले समयमा तलब नपाउने र निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी दिन नसक्ने अवस्थामा थियो”, महासचिव पोखरेलले भन्नुभयो, “वर्तमान सरकार बनेपछि आर्थिक रुपमा सबै सूचकमा अगाडि छन्, पुँजीगत खर्च बढेको छ, विदेशी मुद्राको सञ्चिती इतिहासको उच्च विन्दुमा छ र व्यापार व्यवसायमा उलेख्य वृद्धि भएको छ ।” उहाँले वर्तमान सरकार बनेपछि आयात र निर्यात दुवै बढेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा हल्ला गर्ने वित्तिकै सरकार असफल भन्न नमिल्ने बताउनुभयो । त्यसैगरी उहाँले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सूचनाको हकलाई प्रत्याभूत गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजेको बताउनुभयो ।

“लोकतन्त्रका लागि लडेका पार्टीले संविधानको हक कुण्ठित हुने कानुन बनाउँदैन त्यसमा ढुक्क हुनुस्”, महासचिव पोखरेलले भन्नुभयो, “सामाजिक सञ्जालले आमसञ्चार माध्यमलाई कमजोर बनाएको छ स्वतन्त्रताका नाममा अराजकता बढेको सरकारले त्यसलाई नियन्त्रण गर्न खोजेको हो ।”

प्रकाशित मिति : August 18, 2025 at 12:43 pm