२९ पुष २०८२, मंगलवार | Wed Jan 14 2026

डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव छैनः मुख्यसचिव अर्याल

३० साउन, काठमाडौं । मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताउनुभएकाे छ । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अर्यालले प्रविधिबिना रूपान्तरण सम्भव नभएको बताउनुभएकाे हाे ।

‘डिजिटलाइजेसन बिना रूपान्तरण सम्भव छैन् । सेवा प्रवाह, सुशासन र सामाजिक आर्थिक विकासमा रूपान्तरण गर्न डिजिटलाइजेसन हुनपर्छ,’ उहाँले भन्नुभयाे । कार्यक्रममा बोल्दै अर्यालले डिजिटल पूर्वाधारको विकास र सिस्टमहरूबीच अन्तरआवद्धता हुनुपर्ने जोड दिनुभएकाे छ ।

‘कम्प्युटरमा टाइप गरेर डिजिटलाइजेनस हुँदैन । त्यसका लागि प्रणालीहरूबीच अन्तरआवद्धता हुनुपर्छ,’ उहाँले भन्नुभयाे, ‘अहिले निजी क्षेत्रको आफ्नै सिस्टम छन् । सरकार पनि आफ्नै सिस्टममा काम गरिरहेको छ । यी इन्टिग्रेसन नगरेर विकास हुँदैन् ।’ सरकारले अबलम्बन गरेका सिस्टहरू पुरानो भइसकेको उहाँको भनाइ छ ।

‘वैदेशिक रोजगार, अध्यागमन, खरिद, फाइनान्सियल म्यानेजमेन्ट, राहदानी, नागरिकताका सिस्टमहरू पूराना भइसकेका छन् । एक हिसाबले ‘डेट एक्सपायर’ भइसकेका छन् तर हामीले चलाइरहेका छौं ।’ उहाँले अगाडि भन्नुभयाे, ‘हिजो हामीसँग त्यो क्षमता थिएन । विदेशी कम्पनीको भर परेर जेनतेन बनाएका थियौं । अहिले खोज्दा ती कम्पनी आउँदैनन् । अब त्यो सिस्टमलाई सुधार गर्न तपाईहरू आउनु पर्छ । तपाईहरूलाई आमन्त्रण छ ।’

अमेरिकाको, बेलायतको सिस्टम बनाउछु, सुधार गर्छु भनेर के गर्ने ? नेपालको सिस्टम सुधार्नु पर्‍यो नि ? भन्दै नेपालका निजी आईटी कम्पनीहरूलाई अर्यालले प्रश्न गरेका थिए । उनी यत्तिमै रोकिएनन । अर्काको बखान गरेर के गर्नु ? आफ्नो सिस्टम सुधार नगरेर हुँदैन् ? पनि भने । यसका लागि नीति तथा कानुनमा संशोधन गर्नुपर्ने भए सुझाव दिन आग्रह समेत उहाँले गर्नुभएकाे थियाे ।

डिजिटल इकोसिस्टम विकासका लागि डिजिटल पूर्वाधारको विकास, दक्ष जनशक्तिको उत्पादन र रिटेन्सन, डिजिटल साक्षरता, अन्तरआवद्धता तथा साइबर सुरक्षामा विशेष काम गर्नुपर्ने उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १६:०१