साउन २९ गतेदेखि ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्काशन हुँदै
२१ साउन, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले यही साउन २९ गतेदेखि खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासन गर्ने भएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। क्यापिटलले १० करोड इकाईमध्ये बीज पूँजीबापट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँबराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
सो योजनाको इकाईका खरिदका लागि साउन २९ गतेदेखि आवेदन दिन सकिनेछ। उक्त फण्डमा न्यूनतम १०० इकाई र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १२ गतेसम्म आवेदन दिने समय थप गरिनेछ। बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५० करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १०:०१














