१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

१५ लाख कित्ता आईपीओ निष्काशन गर्दै होटल भादगाउँ एण्ड रिसोर्ट

२० साउन, काठमाडौं । होटल भादगाउँ एण्ड रिसोर्टले आईपीओ निष्काशन गर्ने भएको छ । रिसोर्टले आफ्नो व्यवसाय विस्तार गर्न सर्वसाधारणमा रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ जारी गरेर जम्मा १५ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ, जसबाट होटलको पाँचतारे स्तरमा स्तरोन्नति गर्ने र पूर्वाधार विकास गर्ने योजना छ।

सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । यसै सन्दर्भमा,आयोजित एक औपचारिक कार्यक्रममा होटल भादगाउँ एण्ड रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक निहाल राज भण्डारी र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

भक्तपुरको सांस्कृतिक धरोहरबाट प्रेरित यो होटल २०२१ मा स्थापना भएको हो र यहाँ नेवारी वास्तुकला र सांस्कृतिक वातावरणको वास्तविक झल्को पाइन्छ। युनेस्कोको विश्व सम्पदा सूचीमा परेको भक्तपुरका मध्यभागमा अवस्थित होटलले स्थानीय आतिथ्य सेवाको उत्कृष्टता प्रस्तुत गर्दै आएको छ।

यस होटलले हाल ४० वटा सुविधा सम्पन्न कोठाबाट आफ्नो व्यवसाय गर्दै आईरहेको र सेयर निष्काशन पश्चात् आफ्नो व्यवसाय विस्तार गर्नका लागि १०० वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, भूमिगतपार्किङ्ग स्थल, बाह्य बगैँचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरु निर्माण गर्ने प्रबन्ध निर्देशकले जानकारी दिए । उक्त सेवाहरु थप गरे लगतैै स्थानीय स्तरमा रोजगारी सिर्जना र भक्तपुरको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १७:४३