निर्धारित समयमै दीगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रयासरत छः सांसद थापा
२० साउन, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले निर्धारित समयमै दीगो विकास लक्ष्यहरु हासिल गर्न नेपाल प्रयासरत रहेको बताउनुभएको छ ।
तुर्केमेनिस्तानको संसद, अतिकम विकसित राष्ट्रहरु, भूपरिवेष्ठित तथा साना टापु विकासोन्मूख राष्ट्रहरुसम्बन्धी उच्चप्रतिनिधिको राष्ट्रसंघीय कार्यालय र अन्तर–संसदीय संघ (आईपियू) द्वारा अायोजित सम्मेलनमा सम्बोधन गर्दै सांसद थापाले लक्ष्यप्राप्तिका लागि नेपालले आफ्ना समग्र सरकारी संयन्त्र र समाजको सम्पूर्ण सामथ्र्यको प्रयोग गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘हामी केही लक्ष्यप्राप्तिको दिशामा उन्मूख छौं भने केहीमा हाम्रा अभाव र चुनौती छन् । ती चुनौती परास्त गर्न हामीलाई हाम्रा विकास साझेदारहरुबाट थप सहयोग र सहकार्यको आवश्यकता छ । अवाजा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनबाट पनि दीगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ, जुनकुरा भूपरिवेष्ठित विकासोन्मूख राष्ट्रहरुको हकमा अझ बढी लागु हुन्छ ।’

सम्मेलनको विषयगत सत्रमा सम्बोधन गर्दै सांसद थापाले भन्नुभयो, ‘हामी सबैलाई थाहा छ कि सन् २०३० अब धेरै टाढा छैन । त्यतिबेलासम्म दिगो विकास लक्ष्यहरु (एसडिजी) हासिल गर्नु चुनौतिपूर्ण बन्दै गएको छ । खासगरी भूपरिवेष्ठित तथा विकासोन्मूख राष्ट्र (एलएलडिसी) हरुका लागि यो अझ बढी कठिन बनिरहेको छ । तसर्थ हामीलाई थप तथ्यांक, सशक्त आवाज र स्रोतको समतामूलक बाँडफाडको आवश्यकता छ ।’
उहाँले भूपरिवेष्ठित तथा विकासोन्मूख राष्ट्रहरुले गरेका विकास प्रयासमा आआफ्नै प्रकारका मौलिक समस्याहरु झेल्नुपरिरहेको उपलब्ध तथ्य तथा प्रमाणहरुले प्रष्ट्याएको बताउनुभयो । उच्च यातायात लागत, अपर्याप्त पूर्वाधार, तथा विश्वबजारमा सीमित पहुँचले गर्दा आर्थिक तथा सामाजिक विकासका प्रयासहरु निष्प्रभावी बनेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : 07:19









