१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सदनमा सांसदको प्रश्नः बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

१९ साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गर्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सांसदहरूले आपत्ति जनाउनुभएको हो ।

सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्मा सरकारको स्पष्ट जवाफ माग गर्नुभयो । “समाजमा महिलाहिंसाको दर उच्च छ । यस्तो संवेदनशील विषयमा कानुन निर्माणको प्रक्रिया गम्भीर र जिम्मेवार ढङ्गले हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद रुपा सो.शी (चौधरी)ले पनि यो विषयको सत्यताका बारेमा प्रश्न उठाउँदै भन्नुभयो, “महिलाहरू आज पनि आफ्नो अधिकारका लागि सङ्घर्षरत छन्, त्यही बेला बहुविवाहलाई वैधानिकता दिने विषय आउनु गम्भीर विषय हो ।”

सांसद रमा कोइराला पौड्यालले पनि बहुविवाहसम्बन्धी कानुनी मस्यौदा संसद्मा नआइपुग्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको चर्चा हुनु आफैँमा चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बहुविवाहसम्बन्धी विवादसँगै आजको बैठकमा किसानका समस्यालाई पनि प्रमुख रुपमा उठाइएको छ ।

प्रकाशित मिति : August 4, 2025 at 2:31 pm