८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ४९ करोड राजस्व सङ्कलन

१४ साउन, जुम्ला । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यभन्दा कम रु ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेको थियो । आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार कार्यालयले कूल ७८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

यस्तै, रु ३४ करोड ९५ लाख आयकरतर्फ राजस्व सङ्कलन भएको छ । ‘भ्याट’तर्फ रु १३ करोड ५२ लाख र अन्तःशुल्कतर्फ रु ५९ लाख ६१ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा हालसम्म ३९ हजार ५७३ जना करदाता दर्ता प्रक्रियामा छन् । जसमा ‘भ्याट’तर्फ दुई हजार छ, आयकरतर्फ १७ हजार ४७०, अन्तशुल्कमा ७२९ र ‘प्यान’तर्फ १९ हजार ३६८ रहेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला तथा साना व्यवसायीलाई प्राथमिकता दिई सोहीअनुसार काम भइरहेको सो कार्यालयले जनाएको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरी काम भइरहेको सूचना अधिकारी पौडेलको भनाइ छ ।

बक्यौता भएको राजस्व तिर्ने दायित्व व्यवसायीकै भएकाले कार्यालयले पटकपटक परिपत्र गर्दा पनि यहाँका ठूला तथा साना गरी करिब ८०० बढी ‘फर्म’ तथा व्यवसायीले बक्यौता तिर्न नसकेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोटमा पनि कार्यक्षेत्र रहेको छ ।

प्रकाशित मिति : July 30, 2025 at 5:01 pm