संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने एमालेको अपरिपक्क निर्णयले दुःखी बनायोः विद्या भण्डारी
९ साउन, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता विवादमा पार्नुपर्ने विषय नै नभएको बताउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूलाई पार्टी सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्क निर्णयले दुःखी बनाएको छ, यसले साख गिर्नेछ ।’ भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिने यस्ता निर्णयले वास्तविकता छोप्न नसकिने भन्दै विवेकसम्मत निर्णय लिनुपर्छ भन्ने जबजको मर्म भएको समेत बताउनुभयो
पार्टीले गरेको निर्णय वैध नभएको बताउँदै उहाँले आफू पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको उल्लेख गर्नुभयो । पार्टी प्रतिको निष्ठामा प्रतिबद्ध हुँदाहुँदै पार्टी सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने उहाँको भनाइ थियो ।

भण्डारीले पार्टी बनाउन आफू लगायत हजारौँ नेता कार्यकर्ताको रगत पसिनाको मेहनत रहेको भन्दै यो कुरा भावनामा बगेर नभनेको प्रष्ट पार्नुभयो। उहाँले जबजले अघि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणको निष्ठापूर्वक रक्षा गर्न देशभरका एमाले पङ्क्तिलाई आग्रह समेत गर्नुभयो । यस्तै उहाँले आफ्नो निर्णयबाट विचलित समेत नहुने जानकारी दिनुभयो ।
‘त्यसैले म सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात् गर्न र पार्टी निर्माणमा सक्रिय हुन आह्नवान गर्दछु’, भण्डारीको भनाइ छ । भण्डारीले जबजप्रतिको एमाले नेता कार्यकर्ताको निष्ठाकै कारण पार्टीले सफलता हासिल गरेको भन्दै एमाले राष्ट्रिय निर्णायक शक्ति हुने विश्वास व्यक्त गर्नुभयो।
प्रकाशित मिति : 16:24









