२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन
४ साउन, काठमाडाैं । साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।२० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन भएको हो।
सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो । त्यसपछि उनी कहिल्यै पूर्ण रूपमा होसमा फर्कन सकेनन् भनेर गल्फ न्युजले लेखेको छ। लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।
उनलाई अमेरिकी र स्पेनी चिकित्सकहरूको विशेष निगरानीमा राखिएको थियो। कतिपय समय उनका शरीरमा हुने स-साना अनियन्त्रित गतिविधिहरूले परिवारमा आशा जगाए। उनका परिवारले राजकुमारलाई निगरानीमै राखिएको कक्षमा पुगेर कुरान सुनाउँथे। त्यतिबेला शरीरका केही अंगहरू चलेकोजस्तो देखिने भिडिओहरू पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ।
उनका पिता खालिद विन तलाल कुनै न कुनै समय ईश्वरीय चमत्कार हुने र आफ्नो छोरा ठीक हुने डाक्टरहरूलाई बताउने गर्थे। शनिबार उनको निधन भएपछि धेरै मानिसहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रकाशित मिति : July 20, 2025 at 10:30 am









