२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

मन्जुश्री फाइनान्सका विभिन्न शाखामार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन

३० असार, काठमाडाैं । मन्जुश्री फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न शाखाहरू मार्फत समाज सेवामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ।

बुटवल शाखाबाट प्रारम्भ भएको अभियान क्रमशः वीरगञ्ज, पोखरा, मुर्गिया, इटहरी र धरान शाखामार्फत विस्तार गरिएको हो। पोखरा शाखाले अमोर बालगृहलाई एक लाख रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्रीहरू प्रदान गरी सहयोग गरेको छ। त्यस्तै, मुर्गिया शाखाले सैनामैना नगरपालिकाअन्तर्गत परोहा बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरूलाई आवश्यक पुस्तकहरू वितरण गरेको छ।

धरान शाखाले श्री पञ्चकन्या माध्यमिक विद्यालय र श्री सावित्री माध्यमिक विद्यालयलाई पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीहरू प्रदान गरेको छ। यसैबीच, बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघको सहकार्यमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण र निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ।

मन्जुश्री फाइनान्सले हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरी करीब रु १८.२ अर्ब कर्जा परिचालन गरिसकेको छ। २७ शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको फाइनान्सले एक लाख पचास हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गरिरहेको छ।

संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : July 14, 2025 at 10:43 am