मञ्जुश्री फाइनान्सको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान
२७ असोज, काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ। फाइनान्सले असोज २४ गते शनिबार आयोजना गरेको कार्यक्रममा कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब १५० जनाको सहभागिता रहेको थियो। तीमध्ये करिब १२० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए भने ५९ जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यापार अधिकृतलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। मञ्जुश्री फाइनान्स असोज २८ गतेदेखि स्थापनाको २०औँ वर्षमा प्रवेश गर्दैछ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष वार्षिकोत्सवका अवसरमा विभिन्न विशेष कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।
फाइनान्सका अनुसार हाल करिब २ लाख १० हजार ग्राहकलाई सेवा दिँदै आएको छ। संस्थाले अहिलेसम्म करिब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।मञ्जुश्री फाइनान्सले हाल २८ वटा शाखा कार्यालय तथा एउटा विस्तारित काउन्टरमार्फत सेवा सञ्चालन गर्दै आएको छ।
प्रकाशित मिति : October 13, 2026 at 4:50 pm







