१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

२९ असार , न्यूयोर्क । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले फ्लोरिडाको ’एलिगेटर अल्काट्राज’को नामबाट आप्रवासी हिरासत केन्द्र स्थापनाका लागि पाँच वटा राज्यसँग छलफल भइरहेको बताउनुभएको छ ।

शनिबारको एक पत्रकार सम्मेलनमा नोएमले यी पाँच राज्यको नेतृत्व रिपब्लिकन गभर्नरले गरिरहेको बताउनुभयो तर उनीहरूको नाम भने खुलाउनुभएन ।

उहाँले फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले ‘एलिगेटर अल्काट्राज’ डिटेन्सन सेन्टरको सफलतापूर्वक उद्घाटन गर्न डीएचएससँगको सहकार्यको प्रशंसा गर्नुभयो ।

फ्लोरिडा एभरग्लेड्स (घाँसे मैदान) मा अवस्थित केवल आठ दिनमा निर्माण गरिएका डेड–कोलियर ट्रेनिङ एन्ड ट्रान्जिसन एयरपोर्टमा ३९ वर्ग माइल (१०० वर्ग किलोमिटर) क्षेत्रमा बनेको संरचनामा बन्दीहरूको पहिलो समूहलाई जुलाईको सुरुमा त्यहाँ स्थानान्तरण गरिएको थियो ।

यो केन्द्र हालको अमेरिकी प्रशासनको अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने तीव्र प्रयासको एक हिस्सा हो । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशासन र समर्थकहरूबाट प्रशंसा प्राप्त गरेको छ, तर यसले मानव अधिकारका पक्षधरबीच स्थितिको बारेमा चिन्ताजनक रिपोर्टहरू आएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : July 13, 2025 at 3:02 pm