नेपाल र चीन जोड्ने मितेरी पुल बाढीले बगायो
२४ असार, काठमाडौँ । चीनको भू–भागमा परेको लगातारको भीषण वर्षापछि आएको बाढीले भोटेकोशी नदीमा अहिलेसम्मकै ठूलो बाढी आएको छ। बाढीका कारण त्रिशुली नदीको जल सतह समेत एक्कासी उच्च भएर बग्न थालेको छ, जसले तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार नेपाल–चीन सिमानामा रहेको मितेरी पुलमा समेत बाढीले क्षति पुर्याएको छ। चीनको केरुङ बजारतर्फ सामान लिन गएका र सामान लिएर फर्किंदै गरेका सवारी साधनहरू बाढीमा बगाएको देखिएको छ।
रसुवागढी नजिकको भन्सार क्षेत्रमै रोकिएर औपचारिक प्रक्रिया पुरा गर्न प्रतीक्षारत सवारी साधनहरू समेत बाढीको चपेटामा परेको स्थानीयहरूले जानकारी दिएका छन्।

जिल्ला प्रशासन कार्यालय, रसुवाले एक सूचना जारी गर्दै भोटेकोशी तथा त्रिशुली नदीमा जलसतह अत्यधिक बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
सुरक्षाकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई उच्च तयारी अवस्थामा राखिएको छ भने आपतकालीन उद्धारका लागि आवश्यक समन्वय सुरू गरिएको प्रशासनले जनाएको छ।
बाढीको थप प्रभाव मूल्याङ्कन तथा क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति : 07:10









