१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

नीता ढुङ्गानाको फिल्म ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल अनुबन्धित

२३ असार, काठमाडौँ । अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको निर्देशनमा निर्माणाधीन नेपाली फिल्म ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल अनुबन्धित भएका छन्। आइतबार निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको हो।

कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्ममा छायाँकारका रूपमा काम गरिसकेका छन्। शाहिद लालले मुख्यतः कन्नड र तेलुगु फिल्महरूमा छायांकन गरेका छन्। बलिउड र दक्षिण भारतीय फिल्म क्षेत्रमा लामो अनुभव भएका उनीहरूलाई ढुङ्गानाको दोस्रो निर्देशनमा अनुबन्ध गरिएको हो।

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ। निर्देशक ढुङ्गानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी दिइएको छ।

फिल्मको निर्माण व्यवस्थापन शंकर पाण्डेलाई दिइएको छ। निर्देशक ढुङ्गानाले प्राविधिक पक्षमा प्राथमिकता दिँदै हालसम्म कलाकारबारे जानकारी सार्वजनिक गरेकी छैनन्।

‘मलाई निर्देशकको रूपमा विश्वास गर्नु भएकोमा सबैलाई मनदेखि धन्यवाद। ‘सुख–दुख’ हाम्रो सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्नेछ,’ निर्देशक ढुङ्गानाले भनिन्।

‘नीता फिल्म्स’को व्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दशैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याइने तयारी छ। यसअघि नीता ढुङ्गानाले निर्माण गरेको पहिलो फिल्म ‘ह्रस्वदीर्घ’ सफल भएको थियो।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार १४:००