२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

सुनसरीलाई नेपथ्यको सामाजिक सद्भावको सन्देश

२० कात्तिक, इटहरी । ‘जोगले हुन्छ’ गीत सुनेर रमाएको दर्शकदीर्घा एक स्वरमा ‘अमृत’ भन्दै चिच्याइरहेको थियो । त्यही बेला मुख्य प्रस्तोता एवं नेपथ्यका अगुवा अमृत गुरुङले आफ्नो भनाइ राख्न चाहे ।

‘दर्शकवृन्द, नेपालमा हामीले धेरै किसिमका लडाइँ देख्यौँ, अब त्यस्तो देख्नु नपरोस्,’ उनले भने, ‘जसरी यो मञ्च र तल मैदानमा पनि विभिन्न जातजाति, धर्म, सम्प्रदायका मानिसहरू एकसाथ बसेर रमाइरहेका छौँ, त्यसै गरी विविधताले भरिएको हाम्रो देश नेपाललाई पनि भेदभावबाट मुक्त बनाऔँ र सबै एकापसमा रमाएर बाँचौँ है… ।’

प्रत्येकले सबैभन्दा पहिले आफूलाई नेपाली ठान्न उनले आह्वान गरे । प्रत्युत्तरमा दर्शक कोहीले ताली बजाएर त कोहीले मुठी उचालेर समर्थन जनाए । यस्तो प्रतिक्रियाले अमृत गदगद भए अनि भने, ‘ल आउनुस्, अब म तपाईंहरूलाई मिठो झ्याउरे सुनाउँछु ।’ त्यसपछि अर्को लोकप्रिय गीत ‘मै नाचेँ छमछमी’ को तीव्र तालमा सिङ्गो माहोललाई डुबाए ।

कन्सर्टलगत्तै दर्शक ज्योति पोखरेलले फेसबुकमा लेखेकी छन्, ‘नेपथ्यको कन्सर्ट हेरियो । गीत मात्र होइन, विचारसमेत उत्कृष्ट लाग्यो ।’ यो त्यही सुनसरी जिल्ला थियो, जहाँ केही महिनाअघि मात्र धार्मिक विवाद भड्किँदा केहीको मृत्यु भएको थियो भने त्यसको बाछिटास्वरूप थप केही जिल्लामा अशान्ति मच्चिएको थियो ।

इटहरीमा नेपथ्य प्रस्तुत हुँदै गर्दा मैदानका लागि छुट्ट्याइएको टिकट पहिल्यै बिक्री भइसकेपछि अन्तिम समयमा आयोजकले प्यारापिटमा दर्शकका लागि व्यवस्था मिलाउनुपरेको थियो । भरिभराउ रङ्गशालामा सङ्गीतको माध्यमबाट एकाकार हुँदै गएको दर्शक र मञ्चका कलाकारहरूको समागम सुमधुर बन्दै अघि बढ्यो ।

त्यसको केही घण्टाअघि मात्र नेपथ्यसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भेटघाट गरेका थिए । ‘आज बिहान सङ्क्षिप्त र आत्मीय चियाभेटका क्रममा अनौपचारिक रूपमै भए पनि अमृत गुरुङ तथा नेपथ्य ब्यान्डलाई कोशी प्रदेशका तर्फबाट स्वागत तथा सम्मान व्यक्त गर्न पाउँदा खुसी लागेको छ,’ फेसबुकमा तस्बिरसहित मुख्यमन्त्री कार्कीले लेखेका छन्, ‘नेपाली गीत-सङ्गीतको क्षेत्रमा उहाँहरूको अतुलनीय योगदानको उच्च सम्मान गर्दछु ।’

सिक्किमको पाल्जोर रङ्गशालामा भरिभराउ दर्शकलाई मनोरञ्जन प्रदान गरेर आएको नेपथ्यले इटहरीमा पनि उत्तिकै भव्य प्रस्तुति दिएको छ । दर्शकबाट माया पनि उत्तिकै पाएको छ । ‘कहिलेकाहीँ खुसी यति गहिरो हुन्छ कि ओठमा मुस्कानभन्दा पहिले आँखामा आँसु आइदिन्छ,’ पाँचपटक अन्यत्र गएर र यो छैटौपटक आफ्नै सहर इटहरीमा नेपथ्य अनुभव लिएका विप्लव दाहालको प्रतिक्रिया थियो, ‘कार्यक्रम अवधिमा मन यति गहिराइमा डुब्यो कि केही क्षण त आफूलाई सम्हाल्नै गाह्रो भएको थियो ।’ इटहरीमा नेपथ्यको यो पहिलो कन्सर्ट थियो । कन्सर्ट मैदानमा टाढाका दर्शक पनि भेटिन्थे । तिनैमध्ये एक थिए धनकुटादेखि आएका कृष्ण भुजेल ।

‘धनकुटाको त्रिवेणी स्कुलमा कक्षा ६ पढ्दै गर्दा नेपथ्य हेरेको अनुभव थियो,’ ब्यान्डले सरकारी स्कुलहरूसँग मिलेर ‘शान्तिका लागि शिक्षा’ अभियान चलाउँदाको २२ वर्ष पुरानो स्कुले सम्झना खोतल्दै उनले भने, ‘यस अवधिमा ब्यान्डको प्रस्तुतिमा व्यापक सुधार महसुस गरेँ ।’

नेपथ्यको कन्सर्ट हेर्दा गीत-सङ्गीतको मनोरञ्जनसँगै देशलाई माया गर्नुपर्छ र अझ बढी योगदान दिनुपर्छ भन्ने सन्देश प्राप्त हुने गरेको स्थानीय कस्तुरी कलेजका विद्यार्थी सजल भट्टराईले बताए । ‘यस्ता सन्देश मुलुकका कुनाकाप्चामा पुग्न जरुरी छ,’ उनले भने ।

नेपथ्यलाई इटहरीमा ल्याउने लामो समयदेखिको सपना पूरा भएको भन्दै स्थानीय आयोजक ‘पूर्वाञ्चल इभेन्ट्स’ ले खुसी प्रकट गरेको छ । ‘जति दर्शक आउलान् भनेर कल्पना गरेका थियौँ, त्यसै अनुसारको उपस्थिति भइदियो,’ आयोजक राजकुमार कार्कीले भने, ‘कन्सर्ट हेरेर फर्कँदै गरेका दर्शकको अनुहारमा सन्तुष्टिको लहर देखेर झन् बढी खुसी भएका छौँ ।’

कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

इटहरीपछि नेपथ्य अब यसै शनिबार (कात्तिक २१) झापाको चारआलीमा गुन्जिनेछ । चारआलीमा पनि ब्यान्ड पहिलो पटक प्रस्तुत हुन लागेको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसारै त्यहाँस्थित हातेमालो खेलमैदानमा लोकरक गुन्जिनेछन् । शनिबार बेलुकी ४ बजे नै उक्त मैदानका ढोकाहरू खुला हुनेछन् । चारआलीको कन्सर्टपछि भने टोली छोटो विश्रामका लागि काठमाडौँ फर्किनेछ ।

तिहारपछि ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुनेछ । त्यसपछि ब्यान्डले अस्ट्रेलियाको शृङ्खलाबद्ध यात्रा गर्नेछ ।

यी तमाम कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

प्रकाशित मिति : November 6, 2026 at 12:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/