९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

भर्ने होइन त ? भोलिदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन हुँदै

१७ असार, काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि असार १८ गतेदेखि सर्वसाधारण लागि आईपीओ निष्कासन गर्दैछ।कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीको आफ्नो जारी पूँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ९ हजार १०१ कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ बाँडफाँड गरेको हो।

अब कम्पनीले बाँकी रहेको आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई र ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको २९ लख ४२ हजार ७६० कित्ता आईपीओ सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । आईपीओ लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा असार ३२ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 1, 2025 at 11:59 am