३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैदको सजाय

१६ असार, काठमाडाैँ । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ। साेमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यो सजाय ताेकेकाे हो।

यस्तै बस्नेतलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना समेत तोकिएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएकोमा ३ वर्ष कैद सजाय हुने ठहर भएको छ भने बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना हुने ठहर भएको छ।

त्यस्तै गैरकानुनी रुपमा कमाएको ठहर भएको सम्पत्तिसमेत जफत हुने भएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणकै कसुरमा राष्ट्रसेवकलाई हुने अतिरिक्त १० प्रतिशत कैद सजायसमेत (३ महिना १८ दिन) थप हुनेछ।

फैसलामा बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ २२ पैसा क्षतिपुर्ति शूल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने समेत ठहर भएको छ।

त्यस्तै पद्मा मर्चेन्ट कम्पनी प्रालिका अध्यक्ष कँडेललाई पनि ८ वर्ष कैद सजाय हुने भएको छ। कँडेल र दुई कम्पनीले पनि २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो दामासायीले भराउनुपर्ने भएको छ।

२ व्यक्ति र २ कम्पनीविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घूस लेनदेन गरेको आरोप थियो। मेयर बस्नेत नेपाली कांग्रेसबाट लगातार २ कार्यकाल उक्त पालिकाका मेयर निर्वाचित भएका थिए।

प्रकाशित मिति : June 30, 2025 at 7:03 pm