तरलता व्यवस्थापनका लागि आज बजारबाट ९० अर्ब झिक्दै राष्ट्र बैंक
४ असार, काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायम रहँदा त्यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट रकम झिक्ने गर्दछ । सोही अनुरूप बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी साउन ७ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।
प्रकाशित मिति : ४ असार २०८२, बुधबार १०:५८