१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

२ असार, काठमाडौँ । सांसद पदम गिरीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले विनियोजन गरिएको बजेट मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काउने तथा सुखी नेपाली समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्ने किसिमको रहेको बताउनुभएको हो ।

सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न योग्य रहेको र आर्थिक लक्ष्य हासिल गर्नका लागि सहयोग गर्ने सांसद गिरीको भनाइ छ । “बजेटमा रु १३ खर्ब १५ अर्ब राजस्व सङ्कलनका अनुमान गरिएको छ, चालु आर्थिक वर्षमा राजस्व वृद्धिको लक्ष्य ३१ प्रतिशत वृद्धिको लक्ष्य निर्धारण गरिएको थियो, विगतमा लक्ष्य अनुसारको उपलब्ध हासिल हुन सकेका थिएनन्,” उहाँले भन्नुभयो, “राजस्वको लक्ष्य हासिल गर्नका लागि सुशासन कायम गर्न सरकार प्रतिबद्ध हुनुपर्छ, निजी क्षेत्रको मनोबल बढाउन आवश्यक छ ।”

सांसद गिरीले यथार्थको धरातलमा रहेर राष्ट्रिय योजना आयोगले दिएको बजेटको सिलिङको सीमा नबढाई बजेट आएको र विकासका योजनाहरु घटाउनु राम्रो पक्ष रहेको धारणा राख्नुभयो ।

“बजेटमा कृषि क्षेत्रको बजार व्यवस्था, बिमाको सुविधा, मल, बीउ, औजारमा अनुदान दिने कुराहरु आएका छन् । निजी क्षेत्रलाई लगानीका लागि आकर्षण गर्ने र कृषिमा आत्मनिर्भर बन्ने बाटोमा देश अगाडि बढ्ने कुरा सकारात्मक छन्,” उहाँले भन्नुभयो, “बाँझो जमिनलाई उत्पादन कार्यमा लगाउने, कृषि र वनका उद्यमका लागि मिसन खरिदमा कर छुट दिने व्यवस्था गरिएको छ । यो सकारात्मक छ ।”

सांसद गिरीले युवा पुस्ताहरुलाई नेपालमा नै रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्ने सरकारको नीति पनि प्रशंसनीय रहेको बताउनुभयो । “यही देशमा भविष्य छ खोज्ने युवाहरुलाई आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटमार्फत आइटी क्षेत्रमा आकर्षण गर्न खोजिएको छ,” उहाँले भन्नुभयो, “रोजगारी वृद्धि गर्ने कार्यमा युवाहरु लाग्नेछन् । अब मुलुकमा नै युवाहरुले रोजगारी पाउनेछ । तर, नीतिको प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्छ ।”

सांसद गिरीले सार्वजनिक खर्च कटौतीमा सरकारको ध्यान पुग्नुपर्ने र घाटामा भएका सार्वजनिक संस्थाको व्यवस्थापन गर्नुपर्ने सुझावसमेत दिनुभयो ।

प्रकाशित मिति : June 16, 2025 at 2:06 pm