३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

महासचिव पोखरेलको क्षेत्रमा एमालेभित्र सामूहिक बिद्रोह, ८७ नेताले एकैपटक छाडे पार्टी

३१ जेठ, दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्रमा सामूहिक बिद्रोह सुरू भएको छ । भोलिका दिनमा समेत सामूहिक बिद्रोहको चेतावनी दिँदै पहिलो चरणमा लुम्बिनी प्रदेशका प्रभावशाली नेता गिरिराज केसीको नेतृत्वमा ८७ जनाले एमाले परित्याग गरेका छन ।

उनीहरूले महासचिव पोखरेल पत्नी सुजिता शाक्यसहित बेलायत भ्रमणमा निस्केको दिन सामूहिक राजनीमाको संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन । पार्टीभित्रको पछिल्लो गतिबिधि आफैँ बोक्सी र आफैँ धामी बन्ने खालको देखिएको उनीहरूको जिकिर छ । यससँगै अन्य नेताहरूको पनि पार्टी परित्यागको सूची सार्वजनिक हुने केसीले बताउनुभएको छ । एमालेभित्र परिवारका सदस्यहरूको व्यवस्थापनमा सबैभन्दा बढी मेहनत गरेको नेता भनेर चिनिनुभएको पोखरेल गत प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग १९६  मतान्तरमा प्रतिनिधिसभा सस्यमा पराजित हुनुभएको थियो ।

अन्य सयौँ कार्यकर्ताको भावना बोकेका प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेपछि दाङमा एमालेभित्र सन्नाटा छाएको छ । केसीको नेतृत्वमा पहिलो चरणमा लुम्बिनी प्रदेश कमिटीका निवर्तमान सदस्य पाँच जनासहित अन्य जिल्लास्तरीय प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेका छन । यसले एमालेको सांगठनिक जीवनमा ठूलो धक्का लाग्ने नेताहरूले बताएका छन ।

पत्नी सुजिता शाक्यसहित बेलायत उड्नुअघि विमानस्थलमा विादइ हुँदै एमाले महासचिव शंकर पोखरेल ।

पार्टी परित्यागको नेतृत्व गर्ने केसी लुम्बिनी प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवार रहनुभएको थियो । केसीसहित ८७ जनाले विज्ञप्तिमा उल्लेख गरेका छन, ‘हाम्रो पार्टीका अध्यक्ष र महासचिवहरु चरम नशामा चुर भएर कहिले कर्णाली वासिहरुले चामल देख्न नपाएको त कहिले युवाहरु रहरले विदेश गएका जस्ता बहुलठ्ठीपूर्ण कुराहरु गर्दै हुनुहुन्छ । उहाँहरु १८ औं शताब्दीको सामन्तबादी संस्कृतीको आहालमा डुबुल्की मारिरहनु भएको छ ।’

यसैबीच ८७ जनामा उल्लेख भएका पाँच जनाले भने आफूहरूको नाममा कीर्ते हस्ताक्षर भएको भन्दै आपत्ति जनाएका छन । त्यसरी छुट्टै विज्ञप्ति जारी गरेर आफूहरूले एमाले परित्याग नगरेको जानकारी दिनेमा बाबुराम विश्वकर्मा, निमकान्त पौडेल, गणेश चौधरी, खिमलाल चौधरी, गोविन्द पौडेल रहनुभएको छ ।

यसैबीच महासचिव पोखरेलको स्वकीय सचिव सरोजकुमार रेग्मीले फेसबुक मार्फत बाह्य शक्तिको प्रभावमा पार्टी अनुशासन तोड्दै एमाले परित्याग गरेको अारोप लगाउनु भएको छ । उहाँले नाम फिर्ताको घोषणा गर्ने पाँच जनाको एक विज्ञप्ति सेयर गर्दै भन्नुभएको छ, ‘पार्टी अनुशासन तोड्दै एमाले परित्याग घोषणा गर्ने अभियन्ताको ‘असली रुप’ उजागर, कमरेडहरूबीच प्रतिबद्धता र निष्ठामा एकताको सन्देश । नेकपा (एमाले) को अनुशासन र आन्तरिक ऐक्यबद्धतालाई चुनौती दिंदै नक्कली हस्ताक्षरको आधारमा पार्टी सदस्यताबाट विद्रोह गर्ने र एमाले परित्यागको घोषणा गर्ने अभियन्ताहरूको अर्को असली रुप सार्वजनिक भएको छ। यस्ता गतिविधिले केवल पार्टीको नियमविपरीत कार्य मात्र होइन, नेकपा एमालेप्रति जनस्तरमा बढ्दो विश्वास र नेतृत्वको निष्ठामा पनि प्रहार गर्ने प्रयास हो ।’

यस्तै रेग्मीले भन्नुभएको छ, ‘केही व्यक्तिहरूले पार्टीभित्र आन्तरिक छलफलको प्रक्रियालाई छलेर बाह्य शक्तिको निर्देशनमा काम गरिरहेका छन्। उनीहरूको यस्तो दोहोरो भूमिका कार्यकर्ताहरूको आँखाबाट लुकेको छैन। पार्टी परित्याग गर्ने नाममा गरिएको हस्ताक्षर संकलन अभियानमा कतिपय व्यक्तिहरूको नाम नक्कली देखिएको छ भने, आफूले हस्ताक्षर नगरेको बताउँदै सार्वजनिक रूपमा खण्डन समेत गरेका छन्। पार्टीप्रति सच्चा निष्ठा भएका कमरेडहरू आज पनि पार्टीको विचार, सिद्धान्त र कार्यदिशाप्रति प्रतिबद्ध छन्। केही स्वार्थी व्यक्तिका कारण पार्टी कमजोर हुँदैन। हामी अझ सुदृढ ढंगले अघि बढ्नेछौं। तपाईंहरूको प्रतिबद्धता र निष्ठामा हाम्रो साथ रहन्छ, कमरेड । यस्तो भ्रमपूर्ण प्रचारको पछि नलागौँ। यसैगरि प्रेस – विज्ञप्ति आउने क्रम जारी छ ।’

प्रकाशित मिति : June 14, 2025 at 2:27 pm