३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रजातन्त्र स्थापनामा योगदान गर्ने व्यक्तिको देशव्यापी प्रचार गर्नुपर्छ: सभापति देउवा

२५ जेठ, भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरमा सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३औँ स्मृतिसभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोन्छेको शालिक अनावरण गर्दै उहाँले जोन्छेले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गर्नुभयो ।

सभापति देउवाले प्रजातन्त्र स्थापनामा योगदान दिने जोन्छेलगायतका व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरी प्रचारप्रचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जोन्छे लोकप्रिय नेता हुनुहुन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु पनि हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”

कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधिले अहिले संसद् चल्न दिने कि नदिने भन्ने निर्णय माओवादी केन्द्रको हातमा रहेको बताउनुभएको छ । संसद् अवरुद्ध गर्ने समय अहिले नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले संसद् अवरुद्ध छ, भिजिट भिसा प्रकरणमा छानबिन हुँदैछ ।”

त्यस अवसरमा जोन्छेको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगरप्रमुख वासुदेव थापासहित विभिन्न व्यक्तिलाई सम्मान तथा विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले जोन्छेको योगदानलाई पार्टीले भुल्न नहुने चर्चा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं जोन्छेकी श्रीमती रजनी जोन्छे, प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीलगायतले भवन निर्माणमा रु एक करोड १० लाख खर्च भएको, सूर्यविनायक नगरपालिकाले पटक–पटक गरी रु ४० लाख सहयोग गरेको, विभिन्न मन्त्रालयबाट रकम प्राप्त भएको र दाताहरुले समेत सहयोग गरेको बताउनुभयो ।

प्रकाशित मिति : June 8, 2025 at 4:59 pm