आजदेखि विकाश हाइड्रोपावरको आईपीओ निष्कासन, क-कसले भर्न मिल्छ ?
६ जेठ, काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले आज (जेठ ६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १२ लाख ६३ हजार कित्ता आईपीओ जारी गरेको हो ।
कम्पनीले गत वेशाख १५ गते प्रतिसेयर १०० रुपैयाँ दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ जारी गरेको हो ।
कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा जेठ २० गते र ढिलोमा असार ४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द जेठ २० गते हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन मा गई पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार ०९:१९