सन नेपाल लाइफको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
३० वैशाख, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा रु.१०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको हो ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख ५ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।
इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति : May 13, 2025 at 9:29 am









