२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

नीति तथा कार्यक्रमले दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेको छः सांसद कार्की

२५ वैशाख, काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्कता, दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकमा केही भएन भनेर स्थापित गर्न खोजिएको नकारात्मक भाष्यलाई खण्डन गर्न सकेको बताउनुभयो ।

नीति तथा कार्यक्रम जनता केन्द्रित रहेको भन्दै उहाँले विकासका लागि दीर्घकालीन रूपमा सार्थक प्रयास गरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद कार्कीले सूचना प्रविधिको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि आधुनिक प्रणालीमा जोड दिनुपर्ने र रासायनिक मल कारखाना स्थापनाका लागि यथेष्ट बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभयो ।

आर्थिक विकासको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा रहेको पर्यटन क्षेत्रको थप विकासका लागि सहज हवाई यातायातको प्रबन्ध गर्नुपर्नेमा सांसद कार्कीले जोड दिनुभयो । ठूलाठूला भवन बनाएर मात्रै शैक्षिक क्षेत्रको विकास हुन नसक्ने धारणा राख्दै उहाँले शिक्षा र स्वास्थ्यका लागि ठोस पहलकदमी लिन ढिलाइ गर्न नहुने बताउनुभयो । नाराले नभई सकारात्मक र सार्थक नीति लिएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १४:४१