भ्रष्टाचार साझा रोग हो, एक अर्कालाई आरोप लगाएर खुशी हुनु पर्दैनः ठाकुर गैरे
२५ वैशाख, काठमाडाैं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको बताउनुभएकाे छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचार अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘एकले अर्कालाई आरोप-प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखापर्यो। सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो । ‘
त्यस्तै, गैरेले संसद्मा उठेका विषय र सुझावलाई समेटर जानुपर्नेमा जोड दिनुभयो । संविधानमा उल्लेख भएका राज्यका निर्देशक सिद्धान्त तथा नीतिलाई सरकारको वार्षिक नीति तथा कार्यक्रमले आधार बनाएको दाबी गर्दै उहाँले सरकारको वार्षिक नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता, वार्षिक बजेट, मध्यमकालीन खर्च संरचनाबीच बलियो समन्वयको आवश्यकता औँल्याउनुभयो ।
नागरिकका विकाससम्बन्धी आकाङ्क्षा पूरा गर्न नसक्दा सरकार र व्यवस्थाप्रति प्रश्न उठ्न थालेको उल्लेख गर्दै सांसद गैरेले जनताले राज्यबाट बलियो आड र भरोसा खोजेका बताउनुभयो । “नागरिकमा व्यापक निराशा बढेको छ, भरोशा टुटेको छ । उहाँहरूका आचरण बदलिँदै गएका छन् । भविष्यप्रति अविश्वास र निराशा बढेको देखिन्छ । अब ती निराशा चिर्दै नागरिकमा विश्वास पैदा गर्ने गरी सबै एकजुट भएर अघि बढ्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पर्ने विषयको कार्यान्यवनको सुनिश्चितताका लागि पनि गैरेले संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सबैकुरा खराब मात्रै भयो भन्नेभन्दा पनि सकारात्मक आलोचना र सुझावको बढी अर्थ रहने उहाँको भनाइ छ ।
संसद्मा छलफलका क्रममा रहेको नीति तथा कार्यक्रमसँगै निजामती सेवा विधेयक, शिक्षा विधेयक, प्रहरी विधेयकलगायत महत्त्वपूर्ण कानुन अघि बढाउनुपर्ने सांसद गैरेले जोड दिनुभयो । भारत र पाकिस्तानबीच पछिल्लो समय विकसित सम्बन्धका कारण नेपालमा पर्न सक्ने असर र दुई देशबीच शान्तिको अवस्था सिर्जना गर्न नेपालले खेल्न सक्ने भूमिकाका बारेमा सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १४:१७








