ब्याज आम्दानीसँगै बढ्यो महुली लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?
२५ वैशाख, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.६२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको यही अवधिमा लघुवित्तले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ३३.१३ प्रतिशतले बढ्दै २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ४ करोड २० लाख रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ४१ लाखमा सीमित बनेको छ ।
यस अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ६ करोड ४ लाख कायम छ । लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ६१ लाख रुपैयाँबाट बढेर ५ करोड ७९ लाख पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले एक अर्ब ७५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर चार अर्ब ९२ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
चुक्ता पुँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १४.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.५१ र मूल्य आम्दानी अनुपात ८४.८६ गुणा रहेको छ ।
प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार ११:५६