११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अरुण भ्याली हाइड्रोपावरको नाफा ५७९९.८७ प्रतिशतले बढ्यो

२४ वैशाख, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५७९९.८७ प्रतिशतले बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको वित्तीय खर्च २१ करोड ८३ लाख रुपैयाँबाट घटेर १० करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३६ करोड ७८ लाख रुपैयाँ छ।

समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा बढेर ११ रुपैयाँ ८५ पैसा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१।०९ गुणा रहेको छ।

प्रकाशित मिति : May 7, 2025 at 9:53 am