‘नीति तथा कार्यक्रमले समृद्धि र सामाजिकलाई समेट्न सकेन’
२२ वैशाख, काठमाडौँ । सांसद वामदेव गौतमले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा कमजोरी रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी गर्नुभएको प्रस्तावमाथि छलफलका क्रममा गौतमले नीतिगत पक्ष धेरै भएको र कार्यक्रमको पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो ।
“नीति तथा कार्यक्रमले भ्रष्टाचार उन्मुलन गर्ने किसिमको योजना ल्याउन सकेन, आन्दोलन रोक्ने किसिमको कुनै शब्द उल्लेख गरिएन”, उहाँले भन्नुभयो, “संविधानले मार्गदर्शन गरेको समाजवादभन्दा अन्य व्यवस्थामा जान सकिदैन । समाजवादउन्मुख नीति तथा कार्यक्रम हुनुपथ्र्यो ।”
सांसद शारदादेवी भट्टले नीति तथा कार्यक्रममा व्यावसायिक जोखिम बीमा ल्याउने विषय समेटिनु स्वागतयोग्य भएको टिप्पणी गर्नुभयो । “ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने, १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार निःशुल्क गर्ने, महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने, महिला सबलीकरणमा ध्यान दिने नीति स्वागतयोग्य छ,” उहाँले भन्नुभयो, “सीमा सुरक्षासम्बन्धी कार्यक्रमलाई तीव्रता दिनु राम्रो नीति हो । अब प्रभावकारी कार्यान्वयनको खाँचो छ ।”
सांसद जगप्रसाद शर्माले आयात बढिरहेको उल्लेख गर्दै निर्यात बढाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकतालाई सही रुपमा सम्बोधन गर्न सक्दैन”, उहाँले भन्नुभयो, “सुशासन, समृद्धि र सामाजिक न्यायको योजनालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न सकेन ।”
प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार १६:१९








