बाढीपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा एडीबीको सहयोग माग
२९ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान तथा जलवायु–उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्। थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेले बिहीबार एडीबीका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका हुन्।
भेटमा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु परिवर्तनको जोखिम सामना गर्न सक्ने संरचना निर्माण तथा नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि थप स्रोत परिचालन गर्न एडीबीलाई आग्रह गरे।

हालैको विनाशकारी बाढीपछि उद्धार तथा प्रारम्भिक प्रतिकार्यमा सहयोग पुर्याउन आपतकालीन अनुदान शीघ्र स्वीकृत गरेको भन्दै उनले नेपाल सरकारका तर्फबाट एडीबीप्रति धन्यवादसमेत व्यक्त गरे।अर्थमन्त्री वाग्लेले जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा पुनर्निर्माणलाई पुरानै संरचना पुनःस्थापना गर्ने काममा सीमित नराखी थप सुरक्षित र उत्थानशील बनाउनु आवश्यक रहेको बताएका छन्।
भेटका क्रममा एडीबीका अध्यक्ष कान्दाले नेपालको विकासमा सहकार्यलाई बैंकले उच्च प्राथमिकतामा राखेको बताएका छन्। नेपालको दीर्घकालीन विकासका प्राथमिकता र विपद्पछिको पुनरुत्थानमा एडीबीले सहकार्य जारी राख्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्याय र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।
प्रकाशित मिति : October 15, 2026 at 1:10 pm







