४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

१०.४९ प्रतिशतले बढ्यो आइएमई लाइफ इन्स्योरेन्सको नाफा

२१ वैशाख, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १५.६५ प्रतिशत बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । घिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १९.७२ प्रतिशत र कुल खर्च १७.७३ प्रतिशत बढेको छ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ९८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४२ करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ २८ पैसा घटेर ९ रुपैयाँ ७७ पैसा कायम भएको छ। त्यस्तै, इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात ४७.३३ गुणा रहेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आईतवार १०:४७