नेपाल र जापानबीच हवाई सेवा सम्झौतामा आज हस्ताक्षर हुँदै
२५ पुस, काठमाडाैँ । नेपाल र जापानबीच आज हवाई सेवा सम्झौता हुँदैछ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा आज दुई देशबीच सम्झौता हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन । बुधबार मन्त्री ज्ञवाली र उनका समकक्षी कोनोबीच ४ बजेपछि हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने कार्यसूची समेत रहेको छ । परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ । मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज काठमाडौं आइपुग्दैछन ।

भ्रमणबाट नेपालमा जापानी लगानी तथा पर्यटन प्रवर्द्धन हुनुका साथै जापानको श्रम बजारमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने तथा आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित मिति : 10:46









