१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रधानमन्त्री ओली

२२ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालू आवको पाँच महीनामा राजश्व सङ्कलन ३२ प्रतिशत र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको तथा सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिनुभयो ।

उहाँले सो अवधिमा मूल्य वृद्धि ३ दशमलव ७ प्रतिशत रहेको, वैदेशिक सहायता रु एक खर्ब ६२ अर्ब ७२ करोड प्राप्त भएको, उद्योग व्यवसायमा २५ प्रतिशत लगानी वृद्धि भएको तथा व्यापारघाटा एक दशमलव शून्य पाँच प्रतिशत घटेको पनि जानकारी दिनुभयो ।

आगामी फागुन २१ गतेभित्र सङ्घीयतानुकूल नभएका कानून संशोधन गर्नुपर्नेमध्ये १६५ कानूनमा संशोधन तयार भएको जानकारी दिँदै उहाँले मौलिक हकका कानून बनी कार्यान्वयनमा आएको बताउनुभयो । पशु बीमा कार्यक्रम सम्बन्धित विभागलाई प्रदान गरिएको, प्रधानमन्त्री रोजगारी कार्यक्रम शुरु गरिएको, राष्ट्रपति चुरे कार्यक्रम जारी रहेको र समस्या देखिएका केही परियोजनामा विशेष निगरानी राखिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रकाशित मिति : January 6, 2019 at 5:29 pm