१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

एकल पुरुषलाई पनि मासिक भत्ता

–चन्द्रकला भण्डारी
२० पुस, भद्रपुर  । झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताउनुभयो ।

“एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”, उहाँले भन्नुभयो, “असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौँ ।” गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु ५०० का दरले भत्ता प्रदान गरेकोे थियो ।

त्यसैगरी उक्त गाउँपालिकाले ८४ वर्षमाथिका ११८ वृद्धवृद्धालाई सरकारले प्रदान गर्दैै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु ५०० थपेर प्रदान गर्दै आएको पनि अधिकृत दङ्गालले बताउनुभयो । एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने झापा गाउँपालिका सम्भवतः प्रदेश नं १ को पहिलो स्थानीय तह हुनसक्ने उहाँको जिकिर थियो ।

प्रकाशित मिति : January 4, 2019 at 10:29 am