५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ होः उपमहासचिव पोखरल

२८ फागुन, कटारी (उदयपुर)। नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताउनुभएको छ ।

आज यहाँ पार्टीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका पोखरेलले लोकतन्त्र, गणतन्त्रका लागि हिजो सबै पार्टीका योगदानको स्मरण गर्दै उहाँले फेरि सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । हालको अवस्थामा राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ हुने उहाँको भनाइ थियो ।

“हिजो महान जनयुद्ध, बृहत जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौँं”, उहाँले भन्नुभयो, “हामीले निर्माण गरेको संविधानमा उल्लेखित गणतन्त्र, समावेशिता, समाजवादको उपलब्धिमाथि प्रहार भइरहेको छ ।”

नेपाली जनताको चेतना धेरैमाथि उठिसकेकाले उहाँले सबै मिलेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले कटारीका सहिद परिवारलाई सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार १८:४७