भू–उपयोग नीतिका लागि सुझाव लिँदै मन्त्री अर्याल, चाँडो ल्याउन नेकपाका नेताहरूको सुझाव
१८ पुस, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्रीहरुले भूमिको वैज्ञानिक वर्गीकरण र उपयोग नीति चाँडो ल्याउन सुझाव दिनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले बुधबार मन्त्रालयमा आयोजना गर्नुभएकोे छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालसहितका नेताले सो सुझाव दिनुभयो ।
उहाँहरुले भूमिबारे नेपाल सरकारको समग्र दृष्टिकोण बनाउन, भूमिहीनका समस्या सम्बोधन गर्न, औद्योगिक र आवास क्षेत्र निधारण गर्न, चक्लाबन्दी, जग्गाको हदबन्दी आदिबारे स्पष्ट नीति बनाउन आग्रह गर्नुभयो ।

नेता नेपालले नेकपा नेतृत्वको सरकार रहेको अवस्थामा कुनै पनि नागरिक भूमिहीन नहुन नहुने, भूमिका साथै मानिसको जीविकोपार्जनका अन्य उपाय हुनुपर्ने जनाउँदै भूमिबारे स्पष्ट योजनाविना विकास निर्माण गर्दा भूमिको क्षयीकरण हुने बताउनुभयो । उहाँले गुठीमा जग्गा रहँदा बेचविखन हुन नपाएको अवस्थाबारे सोच्न सुझाव दिनुभयो ।
मन्त्री अर्यालले सुझावका आधारमा आफूले योजना बनाउने बताउँदै भूमिसम्बन्धी ऐन छलफलमा रहेको र भू–उपयोग ऐन मन्त्रिपरिषद्मा विचाराधीन रहेको जानकारी दिनुभयो । कार्यक्रममा नेताहरु केशव बडाल, हरिबोल गजुरेल, प्रभु शाहलगायतले मन्त्री अर्याललाई सुझाव दिनुभएको थियो ।
प्रकाशित मिति : 22:08









