गिरिजा काँग्रेस पार्टीको मात्र नभै राजनेताका रुपमा सबैको अभिभावकः दाहाल
७ चैत, काठमाण्डैं । काठमाण्डौंमा गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए ।
मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको छ भन्दै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पु¥याउनुपर्ने बताए ।
अध्यक्ष दाहालले राजनीतिक रुपमा सत्ता पक्ष र प्रतिपक्ष अलग भए पनि राष्ट्रिय मुद्दामा एकजुट हुन जरुरी रहेको बताउँदै “सत्ता पक्ष र प्रतिपक्ष परम्परागत रुपमा रहने हो भने देश बन्दैन, त्यसैले दुवै मिलेर देश बनायौँ भने मात्र गिरिजाको सपना पूरा हुन्छ, भने ।
कलेजका संस्थापक अध्यक्ष भीमसेनदास प्रधानले शिक्षा सबैको पहुँचमा पु¥याउनु पर्ने गिरिजाप्रसादको सपनालाई साकार पार्ने उद्देश्यका साथ कलेज स्थापना गरिएको बताउँदै गिरिजाप्रसादले भनेजस्तो सहमति, सहकार्य र एकतामा सबै दलले जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
क्याम्पस प्रमुख खिलानाथ सापकोटाले कलेजले गरिबी असहायलाई निःशुल्क पढाउने गरेको बताउँदै कलेजमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययन गरिरहेको बताए ।
प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार १४:४२