जापानले नेपालसँग कामदार माग्दै पठायो औपचारिक प्रस्ताव, एक महिनाभित्रै सम्झौता हुने
१८ पुस, काठमाडौँ । जापानले नेपालसहित ९ अन्य देशबाट पनि कामदार लैजान सकिने जनाएको एक सातापछि नेपाललाई कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव पठाएको छ । एक साताअघि बसेको जापानको मन्त्रिपरिषद् बैठकले चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, नेपाल, थाइल्याण्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने निर्णय गरेको थियाे ।

जापानले नेपालको परराष्ट्र मन्त्रालयमार्फत् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कामदार आपूर्ति गर्ने प्रस्तावको ड्राफ्ट पठाएको हो । नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रम सम्झौता गरेर कामदार जापान पठाउने छ । त्यसका लागि जनवरीको अन्तिमतिर जापानको टोली नेपाल आउने र महत्त्वपूर्ण सम्झौता हुन सक्ने बताइएकाे छ ।
विदेशी कामदार सहज रूपमा भित्र्याउनका लागि जापानले गत नोभेम्बर २ मा नयाँ कानून ल्याएको थियो । सोही कानूनलाई पूर्णता दिन एकसाता अघि बसेको जापानको मन्त्रिपरिषद् बैठकले कामदार आपूर्तिसम्बन्धी नयाँ नीति पास गरेको हो ।
जापानले आगामी ५ वर्षभित्र साढे ३ लाख विदेशी कामदार भित्र्याउने योजना बनाएको छ ।
प्रकाशित मिति : 14:54







