२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

१६ दिनदेखि वडा कार्यालयकै मोटरसाइकलमा अर्घाखाँचीका वडाध्यक्ष विष्णुप्रसाद भुसाल बेपत्ता 

१८ पुस, बुटवल । १६ दिनदेखि हराइरहेका जनप्रतिनिधि, अर्घाखाँचीका वडाध्यक्ष विष्णुप्रसाद भुसाल अझै भेटिएका छैनन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाध्यक्ष ४१ वर्षीय  भुसाल गत पुस २ गते देखि हराएका छन् ।  आफन्तले प्रहरी प्रशासनलाई खबर गरे पनि  खोजीकालागि प्रहरी प्रशासन र सरकारले चासो नदिएको गुनासो आफन्तले गरेका छन् ।

विष्णुका दाजु जीवलाल भुसालले जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले हराएका जनप्रतिनिधिको खोजतलासमा गम्भीरता नदेखाएको गुनासो गरेका छन् । पुस २ गते वडा कार्यालयकै मोटरसाइकलमा गोरुसिंगे हिँडेका भुसाल पुस ३ गते साँझबाट सम्पर्कविहीन भएका थिए ।

पुस ४ गते वडाकै एकजनाले फोन गर्दा भुसालको मोबाइल एक गाडीका चालक सन्तोष भुसालले उठाएका थिए । गाडीचालकले मोबाइल गाडीमा छुटेको तर मान्छे गोरुसिंगेमै ओर्लेको जानकारी गराए पनि त्यसपछिको अवस्थाबारे कुनै जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रमुख डीएसपी नवराज मल्लले बताए ।

उनको खोजतलासका लागि सम्बन्धित निकायमा हुलिया र फोटोसहित पत्राचार गरिएको जानकारी पनि उनले दिए । विष्णुका दाजु जीवलालका अनुसार गाउँमै फर्निचर उद्योगसमेत सञ्चालन गरिरहेका उनको घरपरिवार, साथीभाइ कसैसँग कुनै विवाद, झगडा थिएन । उनी स्थानीय चुनावअघि तत्कालीन माओवादी केन्द्रमा थिए । चुनावका बेला तत्कालीन एमालेमा प्रवेश गरेर जितेका थिए ।

प्रकाशित मिति : 13:47