१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपालमा लगानीको वातावरण बनेको छः महासचिव पोखरेल

२३ माघ, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालमा लगानीको वातावरण बनेको बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा पोखरेलले सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको बताउनुभयो । ‘नेपालमा लगानीका लागि राजनीतिक स्थायित्व, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण गर्दै विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको छ’, उहाँले भन्नुभयो ।

जापान–नेपाल विकास मञ्चका सभापति एवं पूर्व संसदीय उपअर्थमन्त्री मोतोयुकि ओदाची, जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, नेकपा एमालेका केन्द्रीय सदस्य डा.सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूसहित उच्चस्तरीय छलफलमा जापानी प्रतिनिधिहरूले नेपालमा लगानीका विभिन्न सम्भावनाहरूप्रति चासो व्यक्त गर्नुभएको थियो । उहाँहरूले आगामी दिनमा नेपालमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालमा लगानीका सम्भावनाहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकमा शैक्षिक, आर्थिक, सांस्कृतिक, प्राविधिक तथा कृषि क्षेत्रका विषयमा विस्तृत छलफल भएको थियो ।

नेपालमा विदेशी लगानीको प्रवर्धन गर्दै औद्योगिक विकास, रोजगारी सृजना तथा प्रविधि हस्तान्तरणमा जापानी सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा छलफलमा जोड दिइएको थियो ।
छलफल नेपाल–जापान सम्बन्धलाई थप प्रगाढ बनाउन तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोगी हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : February 5, 2025 at 10:05 am