हिरासतबाट हत्या आरोपी दुई थुनुवा भागेपछि इन्सपेक्टरसहित ५ प्रहरीमाथि कारवाही
१७ पुस, विराटनगर । प्रहरी हिरासतबाट दुई जना थुनुवा भागेको घटनाामा इलाका प्रहरी कार्यालय रानी विराटनगरले सुरक्षाका लागि खटिएको सबै प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । २४ सै घण्टा प्रहरी सुरक्षा घेरा भित्र रहेको हिरासत कक्षबाट हत्या आरोपी फरार भएपछि तत्कालिन इञ्चार्ज समेत रहेका प्रहरी निरिक्षक सन्तोष निरौलासहित ५ जनालाई विभागीय कारवाही गरिएको हो । ड्युटीमा रहेका अन्य तीनजनालाई भने मुद्दा दायर गरिएको छ ।

थुनुवा फरार भएपछि तत्कालिन समयमा ड्युटीमा रहेका तीन जनालाई निलम्बन गरी कारागार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी हवल्दार जिरालाल रौनिया, प्रहरी जवान सुरेश राजवंशी र जगन्नाथ बास्केलाई कारागार ऐन अन्तर्गत ‘थुनुवा भगाएको मुद्दा’ दायर गरिएको हो । सो मुद्दामा तीनै जना जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका छन् ।
गत असोज १ गते विराटनगर १७ का १७ बर्षका महम्मद अस्फाक हत्या आरोपमा पक्राउ परेका २० बर्षका महम्मद सद्दिम हुसेन र २१ बर्षका महम्मद आरिफ आलम कात्तिक ९ गते बिहान इलाका प्रहरी कार्यालय रानीको थुनुवा कक्षको भेण्टिलेसन फोडेर फरार भएका थिए । फरार भएकाहरु अझै भेटिएका छैनन् ।
गत असोज दोस्रो साता पक्राउ परेका हत्या आरोपी हुसेन र आलमविरुद्ध दायर गरेको मुद्दामा कात्तिक ८ गते बिहीबार जिल्ला अदालतको आदेश आउने दिन थियो । ८ गते पक्राउ गरेको २४ दिन भएको थियो । बिहीबार मुद्दा हेर्दा हेर्दैमा रहेपछि अदालतले आरोपीलाई प्रहरी हिरासतमा नै पठाएको थियो । शुक्रबार बिहान अदालत उपस्थित हुनुपर्ने हत्या आरोपी राति नै फरार भएका थिए ।
कारागार पठाउनुपर्ने व्यक्ति प्रहरी हिरासतबाटै फरार भएपछि ड्युटीमा रहेका तीन जनालाई कारागार ऐन अन्तरगत मुद्दा दायर भएको थियो ।
प्रकाशित मिति : 17:56







