२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

त्रिशूली गंगा जलविद्युत् आयोजना नबनाउन बेत्रावतीका स्थानीयको माग

१६ पुस, नुवाकाेट। नुवाकोट र रसुवाकोबीच भएर बग्ने त्रिशूली नदीको प्राकृतिक बहाव रोक्ने गरी त्रिशूली गंगा जलविद्युत् आयोजना बनाउन लागिएको भन्दै बेत्रावतीका स्थानीयले विरोध गरेका छन् । नुवाकोटको उत्तरगयाका स्थानीयले सोमबार उर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेलाई भेटी ऐतिहासिक तथा धार्मिक महत्वको उत्तरगयाको संरक्षण गर्न ध्यानाकर्षण गराएका हुन् ।

विकासको नाममा त्रिशूली गंगाको प्राकृतिक बहावलाई परिर्वतन गर्ने वा रोक्ने काम मान्य नहुने भन्दै उनीहरुले उत्तरगयाको ऐतिहासिक महत्वको स्थलभन्दा करिब २ सय मिटर माथि आयोजना निर्माणको व्यवस्था मिलाउन आग्रह गरे ।

पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उत्तरगया धाम भएर बग्ने त्रिशूलीको पानीको प्रयोग गर्ने गरी पर्फेक्ट इनर्जी डेभलपमेण्ट प्रालिद्वारा प्रस्तावितमध्ये त्रिशूली गंगा जलविद्युत आयोजना (१९.४१) ले विद्युत् उत्पादनको अनुमति नलिइकनै विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौतासमेत गरेपछि स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले नदी नै सुकाउने र ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई असर पार्ने गरी कुनै पनि निर्माण कार्य हुन नदिन चेतावनी नै दिए ।

वातावरणीय रुपमा प्रतिकूल असर पर्ने, धार्मिक आस्थामाथि चोट पुग्ने स्थानीय बासिन्दाको दावी छ । सरकारले चाहेमा दक्षिण गयाको शीरको रुपमा बुझिने उतरगयाको धार्मिक पर्यटकीय रुपमा बढी फाइदा लिन सक्ने बताइन्छ । हरेक वर्ष पुसे औँसीका दिन उत्तरगयामा पितृ तर्पण गर्ने गरिन्छ । यस वर्ष आगामी पुस २१ गते शनिबार औँसी परेको छ । गोसाइकुण्ड मुहान भई बग्ने त्रिशूल गंगा त्रिशुली, रुद्रगंगा र बेत्रगंगा उत्तरगयाको संगम स्थल हो ।

यही संगममा हिन्दूहरु मात्रै नभई बौद्ध धर्माबलम्बीहरु पनि पुर्खाको सम्मान स्वरुप श्राद्ध गर्न पुग्ने गर्छन् । धार्मिक महत्वको धरोहरको अस्तित्व संकटमा पर्ने भन्दै यसअघि त्रिशूली जलविद्युत् केन्द्र निर्माणअघि पनि स्थानीयको विरोधका कारण आयोजनाको मुहान डेढ किलोमिटर तल सारिएको थियो । बेत्रावतीका स्थानीयसँगको भेटमा सचिव घिमिरेले आयोजना निर्माणको सम्पुर्ण प्राविधिक पक्ष बुझेर आवश्यक कदम चालिने आश्वासन दिनुभयो ।

आयोजना निर्माणको अनुमतिबिना नै विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता भएपछि यो विषय थप विवादित बन्दै आएको छ । पहिले खारेज भइसकेको आयोजना निर्माणको स्वीकृति पुनः लिन लागिएको हो ।

प्रकाशित मिति : 17:37