८ असार २०८३, सोमबार | Mon Jun 22 2026

पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड

१८ पुस, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्व दिइएको बताउनुभएको छ ।

जनसांस्कृतिक महासङ्घले आज यहाँ गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीसँगको भेटघाटमा अध्यक्ष दाहालले भन्नुभयो, “हामी रुपान्तरण र पुनःनिर्माणको अभियानमा जाँदैछौँ, यो बेलामा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ अघि सारिएको छ ।”  पार्टीको स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उहाँले यसले पार्टीभित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरुप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्व दिइएको बताउनुभयो ।

पार्टी र राज्यसत्ता दुवैमा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ हेरिनुपर्ने अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । “राज्यसत्तामा अझै एकीकृत, केन्द्रिकृत र एकल सांस्कृतिक सोच हावी छ”, उहाँले भन्नुभयो, “हामीले राजनीतिक परिवर्तन गर्यौं, त्यसलाई संविधानमार्फत संस्थागत गर्यौँ । तर सांस्कृतिक रुपान्तरणको क्षेत्र राजनीतिक परिवर्तन र कानुन निर्माणबाट मात्रै सम्भव हुने कुरा होइन, यो आम नागरिकको सोच र चिन्तनसँग सम्बन्धित हुने भएकाले दुवै बदल्न धेरै मेहनत गर्न आवश्यक छ ।”

पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाहरुले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने उहाँले स्पष्ट गर्नुभयो ।

महासङ्घका अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीले आफूहरुले गरेका सुधारका प्रयास तथा चुनौतीबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : January 2, 2025 at 9:26 pm