४ पुष २०८१, बिहीबार | Thu Dec 19 2024

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य

४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।

ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।

जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुईरदुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट झारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १४:१५