४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

प्रसाईंको बयान: कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ

२७ मंसिर, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारको भन्दै  बयान दिएका छन् ।

कम्बोडियामै बस्ने एक नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै प्रसाईंले बयान दिएका हुन् ।

‘एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नम्बरमा मलाई फोन गरी खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए।

त्यसो भए तपाईसँग के प्रमाण छ भनि उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली बिजनेश फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र उक्त कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए । त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेऊ भनेकोमा उनले पठाइदिए। यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन,’ प्रसाईंले बयानमा भनेका छन् ।’

प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार सजाय र दोहोर्‍याएर पुन: सोही अपराध गरेको भन्दै डेढी सजायको माग गरेको थियो। त्यसो हुँदा अधिकतम सजाय भएमा उनलाई साढे ७ वर्षसम्म सजाय हुन सक्नेछ।

यसैबिच प्रसाईंलाई भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यावसायीलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा समेत सीआईबीले अनुसन्धान अघि बढाइरहेको छ ।

यस्तो छ प्रसाईंले दिएको बयान

नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउदो भ्रष्टाचार, चरम आर्थिक संकट, युवाहरू बिदेश पलायन, सामान्य नागरिकले महंगीको मारमा झेल्नु परेको पीडा पिरमर्कालाई बुझी नेपालीहरूको अभिभावकको रुपमा मैले विगत ३ वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रुपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु । सो कार्यहरू गर्नमा अबरोध सृजना गर्ने नेपालको वर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको छु ।

हाल नेपालका सम्माननीय प्रधानमन्त्री ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीले २१ करोड युएस डलर लगानी गरेको’ त्यसको नेपाली अन्दाजी साढे ३२ अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मलाई फोन गरी ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा कम्बोडियामा लगानी छ भनि जानकारी दिएका थिए ।

त्यसै अनुसार तपाईसँग के प्रमाण छ भनी निजलाई सोधपुछ गर्दा निजले खड्गप्रसाद शर्मा ओली बिजनेस फर्मको लागि १४ मे २०१९ मा कम्बोडियामा जाँदा खेरी भाग लिएको अवस्थाको भिडियो र उक्त कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा मैले सो कागजातहरू प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्स एपमा पठाई देउ भनेकोमा निजले पठाइ दिएका थिए । उक्त प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन ।

गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो ब्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनता सामू प्रष्ट पारौं भन्ने उदेश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट गरेको हूँ ।

त्यतिबेला मैले ‘यहाँका नेताहरूको पैसा कम्बोडिया, साउथ अफ्रिका, केन्या, दुवई, सिंगापुर, मंगोलिया, तुर्किमेनिस्तानमा छ । मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाईं बिग्दैन, संसारमा दुर्गा प्रसाई मर्छ, बिग्दैन ।

संसारमा दुर्गा प्रसाईं झुक्छ, तर बिग्दैन । किनभने मैले नेपालीहरू रोएको नेपाली चेलिबेटीहरू रोको देखेको छु’, भन्नेलगायतको शब्दहरू बोलेको थिएँ ।

सो कुरा बोल्दै प्रधानमन्त्री ओलीले स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी गर्नु भएको रकम सहितको कागजातहरू देखाउँदै सम्बन्धित विषयमा बोल्दै गर्दाको भिडियोलाई मैले प्रयोग गरी फेसबुककोबाट शेयर गरेको थिएँ ।

‘ल हेनुहोस केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र‘’ भन्ने लगायतको स्टाट्सहरूको साथमा भिडियो समेत अपलोड तथा पोष्ट गरेको थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १२:२७