१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

सन्दिप लामिछानेको विराटनगरलाई पराजित गर्दै एनपीएलमा जनकपुरको विजयी सुरूवात

१५ मंसिर, काठमाडाैँ । सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्सलाई पराजित गर्दै एनपीएलमा जनकपुर बोल्ट्सले विजयी सुरूवात गरेको छ । अनिलकुमार साहको कप्तानीमा रहेको जनकपुरले उद्घाटन खेलमा विराटनगरलाई आठ विकेटले हराउँदै विजयी शुरुवात गर्यो ।

जनकपुरले विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य १५ ओभर तीन बलमा भेट्टायो । जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रनको योगदान गरे । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक/एक विकेट लिए ।

त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा एक सय २७ रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रनको योगदान दिए । जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले दुई/दुई विकेट लिए । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

शनिबार विजयी सुरूवात गरेको जनकपुर बोल्ट्समा अनिलकुमार साह, आसिफ शेख मार्की खेलाडी तथा ललित राजवंशी, रूपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल, हेमन्त धामी, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, जिमी निशम (न्युजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) र प्रशिक्षक पुबुदु दासानायके रहेका छन् ।

त्यस्तै पराजित सुरूवात गरेको विराटनगर किङ्ग्समा सन्दीप लामिछानेको कप्तानी रहेको छ । विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामीमगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्याण्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्याण्ड), इस्मल आलम (अफगानिस्तान) रहेका छन् भने प्रशिक्षक केभिन ओ ब्राइन रहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार १६:२७