परराष्ट्र मन्त्रालयका पाँच सहसचिव राजदूतमा सिफारिस, कांग्रेस र राप्रपाको कोटाका राजदूत फिर्ता
१२ पुस, काठमाडाैँ । विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा पाँच सहसचिवलाई नियुक्तिका लागि सरकारले सिफारिश गरेको छ । मन्त्रिपरिषद्को यही पुस ६ र ९ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत सिफारिसको जानकारी दिए ।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय तथा क्याम्बोडिया, लाओस, भियतनाम र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिश गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले जानकारी दिए । साथै उनलाई एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक र सामाजिक आयोग र एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीका लागि स्थायी प्रतिनिधिसमेत तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।
त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय र इटाली, सानमारियो तथा लिस्टेन्स्टाइनका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिश गरेको छ । उहाँलाई विश्व व्यापार सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनका लागि स्थायी प्रतिनिधि तोकिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयकै सहसचिव भृगु ढुङ्गानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिश गरिएको छ । सरकाराले उहाँलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका लागि स्थायी प्रतिनिधि तोकेको छ । परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिश गरिएको छ । साथै उनलाई युनेस्कोका लागि स्थायी प्रतिनिधिसमेत तोकिएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिश गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए । साथै उनलाई एशियन कोपरेशन डाइलगका लागि स्थायी प्रतिनिधि तोकिएको छ । ती मुलुकमा हाल कार्यरत राजदूतलाई सम्बन्धित मुलुकबाट प्रस्तावित राजदूत नियुक्तिको सहमति प्राप्त नभएसम्म सो मुलुकको राजदूतका रूपमा कामकाज गरिरहन स्वीकृति समेत दिइएको छ ।
यो पनि पढ्नुहोस्
–कांग्रेस र राप्रपाकोटाका तीन राजदूत फिर्ता गर्ने सरकारको निर्णय, फर्किन तीन साताको समय
प्रकाशित मिति : 19:38









